दफा १२
अनुसन्धान गर्न विशेष टोली गठन गर्न सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस संहिताको अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरको सम्बन्धमा कसूरको गम्भीरता हेरी सम्बन्धित अनुसन्धान अधिकारीबाट मात्र अनुसन्धान हुन नसक्ने भई छुटैृ अनुसन्धान टोली गठन गर्न उपयुक्त हुने कुरा अनुसन्धान अधिकारीको तालुकवाला अधिकारी वा प्रहरी महानिरीक्षकलाई लागेमा निजले आफू मातहतका कर्मचारीहरु संलग्न रहने गरी अनुसन्धान टोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफू मातहतका कर्मचारी बाहेकका अन्य ब्यक्ति समेत संलग्न रहेको अनुसन्धान टोली गठन गर्नु परेमा त्यस्तो अनुसन्धान अधिकारीको तालुकवाला अधिकारी वा प्रहरी महानिरीक्षकले त्यस सम्बन्धमा महान्यायाधिवक्ताको परामर्श लिई विशेषज्ञ समेत रहेको अनुसन्धान टोली गठन गरी अनुसन्धान गराउन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम अनुसन्धान टोली गठन भएमा त्यस्तो टोलीले यस परिच्छेद बमोजिम अनुसन्धान अधिकारीलाई भएको अधिकार प्रयोग गरी अनुसन्धान गर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम अनुसन्धान टोली गठन भएकोमा सम्बन्धित अनुसन्धान अधिकारीले गरेको अनुसन्धान सम्बन्धी विवरण त्यस्तो टोलीलाई हस्तान्तरण गर्नु पर्नेछ ।
(५) उपदफा (१) वा (२) बमोजिम गठन भएको अनुसन्धान टोलीले अनुसन्धान गरी आफ्नाे प्रतिवेदन सम्बन्धित सरकारी वकिल समक्ष पेश गरी त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालय वा अधिकारीलाई समेत दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले कसूरसँग सम्बन्धित कुनै विषयमा थप अनुसन्धान गर्न आवश्यक निर्देशन दिनुपर्ने देखिएमा सोको कारण खुलाई अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(७) उपदफा (६) बमोजिम सरकारी वकिलले दिएको निर्देशन पालना गर्नु सम्बन्धित अनुसन्धान टोलीको कर्तव्य हुनेछ ।